फेदीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका सुबेदी र गुरुङ निर्वाचित

केन्द्रभाग मिडिया

पोखरा ।

स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका घनश्याम सुबेदी र देउकुमारी गुरुङ ‘चिजा’ निर्वाचित भएका छन् ।

तीन हजार ८३६ मत प्राप्त गर्दै सुबेदीले गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार रहेका कांग्रेसका लक्ष्मीप्रसाद बराललाई पराजित गरे । उनका प्रतिस्पर्धी कांग्रेसका बरालले तीन हजार ७०४ मत प्राप्त गरे । निवर्तमान अध्यक्षसमेत रहेका सुबेदी दोस्रो पटकपनि निर्वाचित भए ।

उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ ‘चिजा’ निर्वाचित भएका छन् । उपाध्यक्षतर्फ नेकपा एमालेकी गुरुङले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई एक हजार ५९९ मतको फराकिलो अन्तरले पराजित गरिन् । गुरुङले ३९७८ मत प्राप्त गर्दा पराजुलीले २३७९ मत प्राप्त गरे ।

उक्त गाउँपालिकामा कांग्रेसले चार वटा वडा जितेको छ । नेपाली कांग्रेसका उम्मेद्वार ३ र ४ को वडाध्यक्षमा प्यानलसहित निर्वाचित हुँदा ५ मा भने वडाध्यक्षसहित ४ सदस्य विजयी भएका छन् ।

यस्तै वडा नं १ मा कांग्रेसका अमृत क्षेत्री निर्वाचित भए । यस्तै वडा नम्वर २ मा भने एमालेका अविलास गुरुङ प्यानलसहित निर्वाचित भए ।

फेदिखोलामा १२ हजार १६५ मतदाता मध्य ८ हजार १३९ मत खसेको थियो ।

  • २ जेष्ठ २०७९, सोमबार १९:३७ प्रकाशित