मनाङको नार्पाभूमिमा कांग्रेसका लामा निर्वाचित

केन्द्रभाग मिडिया

मनाङका दुई गाउँपालिकामा जितेर नेपाली कांग्रेस र नेकपा एमालेले आआफ्नो खाता खोलेका छन् । नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् भने चामे गाउँपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र बहादुर घलेले विजय हासिल गरेका छन् ।

लामाले १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन् । मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।

यस्तै जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिकामा ३ सय २० मत ल्याएर एमालेका घले निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् । घले यसअघि पनि चामेको अध्यक्ष थिए ।

उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याइन् । प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् । ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात ८५ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

  • ३१ बैशाख २०७९, शनिबार ०६:५७ प्रकाशित