दलबलसहित चितवनमा प्रचण्ड : मतदाता प्रभावित पारेको भन्दै एमालेद्धारा उम्मेदवारी खारेजको माग

केन्द्रभाग मिडिया

चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा भेटघाटमा व्यस्त बनेका छन् । संघीय सरकारका मन्त्रीसहित गई प्रचण्डले दुई दिनदेखि चितवनमा बसेर मतदाता प्रभावित पारेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।

बुधबार चितवन आएका प्रचण्ड, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, राज्यमन्त्री उमेश श्रेष्ठले मौन अवधिमा निर्वाचन आचारसंहितासमेत ख्याल नगरी सरकारी गाडीको दुरुपयोग गर्दै घरघरमा पुगेर मतदाता प्रभावित पारेको एमालेले जनाएको छ ।

भरतपुरका मतदातासमेत रहेका अध्यक्ष प्रचण्डले भरतपुर(१० स्थित रेनु दाहालको घरमा भेटघाट गरिरहेका छन् । बुधबार दिउँसो चार बजे भरतपुर गएका उनले बिहीबार विहान माडीमा होटल प्याराडाइजमा उम्मेदवार र स्थानीय नेतालाई भेट गरेका छन् ।

एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले विज्ञप्ति जारी गर्दै आचारसंहिता उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरपुर र माडी नगरपालिकाका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्ने प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

‘राज्यको उच्च तहमा रहेका व्यक्तिहरुबाट नै यस प्रकारका कार्य हुनुले निर्वाचन निष्पक्ष हुनेमा गम्भीर आशंका पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

  • २९ बैशाख २०७९, बिहीबार १६:१८ प्रकाशित