कास्कीका एक तिहाइ मतदानस्थल अति संवेदनशील

केन्द्रभाग मिडिया

कास्की ।

कास्कीका एकतिहाइ मतदानस्थल अतिसंवेदनशील मतदानस्थलका रूपमा पहिचान भएको निर्वाचन सुरक्षा समितिले बताएको छ ।

निर्वाचन सुरक्षा समितिले १५० मतदानस्थलमध्ये ५० मतदानस्थल अतिसंवेशनशील मतदानस्थलका रूपमा पहिचान गरेको हो । बाँकीलाई संवेदनशील र सामान्य मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ ।

पोखरा महानगरपालिकाका वडामा रहेका मतदानस्थललाई सामान्य मतदानस्थलका रूपमा राखिएको छ भने गाउँपालिकामा रहेका स्थल अतिसंवेदनशील र संवेदनशीलमा परेका छन् । निर्वाचन सुरक्षा समितिले बाटोको दूरी, भौगोलिक अवस्था, विगतको घटना, हालको सुरक्षा अवस्थालगायतलाई मध्यनजर गरी मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य अवस्थाका मतदानस्थलका रूपमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताए ।

निर्वाचन बहिष्कार गरेका पार्टीदेखि निर्वाचनमा भाग लिएका तर बल प्रयोग गर्न खोज्नेसम्मका समूहलाई पहिचान गरेर निर्वाचनलाई शान्तिपूर्णरूपमा सम्पन्न गर्ने गरी निगरानी गरिरहेको प्रवक्ता तिवारीले बताए । जिल्लामा मतदानस्थलको सुरक्षा घेरा तीन तहको बनाइएको छ, जसमा पहिलो घेरामा नेपाल प्रहरी हुने र प्रहरीलाई म्यादी प्रहरीले सघाउने छ भने बीच घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको छ ।

प्रवक्ता तिवारीको अनुसार कास्कीमा निर्वाचन सुरक्षाका लागि २ हजार ३ सय ७५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।९४३ जना नेपाल प्रहरी र १४३२ जना म्यादी प्रहरी गरि १३७५ सुरक्षाकर्मी परिचालन गरिएको हो ।

जिल्लाका १५० मतदानस्थलमा ३३६ वटा मतदान केन्द्र छन् । पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र २४२ मतदान केन्द्र, अन्नपूर्ण गाउँपालिकामा १५ मतदानस्थल र २६ मतदान केन्द्र, माछापुच्छ्रे गाउँपालिकामा १२ मतदानस्थल र २५ मतदान केन्द्र, मादीमा १७ मतदानस्थल र २५ केन्द्र तथा रुपा गाउँपालिकामा आठ मतदानस्थलमा १८ मतदान केन्द्र तोकिएको छ ।

  • २९ बैशाख २०७९, बिहीबार १४:०७ प्रकाशित