मौन अवधीमा पैसा बाँड्न हिँडेको भन्दै वडाध्यक्ष आचार्यलाई स्थानीयले नियन्त्रणमा लिएपछि…….(भिडियोसहित)

केन्द्रभाग मिडिया

मौन अवधीमा पैसा बाँड्न हिँडेको भन्दै वडाध्यक्ष आचार्यलाई स्थानीयले नियन्त्रणमा लिएपछि…….(भिडियोसहित)

पोखरा ।

नेकपा एमाले पोखरा महानगर कमिटीका सचिव जीवन आचार्यले मौन अबधीको अवज्ञा गर्दै मतदाता प्रभावित पार्न खोजेकोभन्दै उनलाई स्थानीयले त्यसो नगर्न चेतावनी दिएको भिडियो सार्वजनिक भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष समेत रहेका आचार्यले मौन अबधीमा मतदाता प्रभावित गर्न खोजेपछि उनलाई स्थानीयले चेतावनी दिइरहेको भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा पैसा लिएर हिँडेको आरोप स्थानीयले लगाएका छन् । ‘एकदम घिन लाग्यो मलाई सरम लाग्यो मलाई, भोली तपाई एमालेको नेता,..त्यो पैसा किन लिएर हिँडेको घिन लाग्यो तपाईलाई देखेर, तपाईबाट युवाले के अपेक्षा गर्ने’ भिडियोमा स्थानीयले भनेका छन् । आचार्य भने भोली बिहान कुरा गर्ने भन्दै रक्षात्मक बन्दै पन्छिन खोजेका देखिन्छन् । स्थानीयले भने भोली बिहान होइन अहिले नै छिनोफानो हुनुपर्छ भन्दै आचार्यसंग प्रष्टिकरण मागिरेहेका देखिन्छ ।

यता वडाध्यक्ष आचार्यले भने आफू छिमेकीकोमा सामान्य भेटघाटमा जाँदा कांग्रेस कार्यकर्ताले आफूलाई दुई घण्टा कब्जामा लिएको बताएका छन् । ‘म साँझ ७ : ३० बजे मेरो घरभन्दा माथि ५ मिनेटको दूरीमा भेट्न गएको थिएँ । त्यहीबेला कांग्रेसका भाईहरु आएर पैसा बाँड्न आएको भन्दै मलाई घेरा हालेर खानतलासी गरे । मेरो पर्समा त्यही चार हजार रुपैयाँ थियो । त्यसपछि प्रहरी आयो । मलाई ३० मिनेट प्रहरीले उभ्यायो । त्यसपछि प्रहरीले मलाई भेनमा राखेर लग्यो । अनि निर्वाचन आयोगलाई पनि खबर गरिएको रहेछ । त्यसपछि निर्वाचन आयोगकका कर्मचारीको रोहबरमा मलाई छोडिएको हो’ उनले केन्द्र खबरसंग भने ।

उनका अनुसार एमाले नेता खगराज अधिकारीलाई घटना बारे  जानकारी गराएपछि प्रहरीले आफूलाई निर्वाचन आयोगका कर्मचारीको जिम्मा लगाएको हो । ‘मैले मेरो नेता खगराज अधिकारीलाई कल गरेँ । घटनाबारे जानकारी गराएँ । सायद उहाँले सिडिओ र प्रहरीलाई कतै फोन लगाउनुभएको होला । त्यसपछि म छुटेको हुँ । मलाई पछि माला लगाउने कांग्रेस भाइहरुले नै हिजो नियन्त्रणमा लिए । आफ्नै गाउँले हुन भनेर मैलेचाहीँ हल्लाखल्ला गरिन’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुन्दर तिवारीले वडाध्यक्षलाई स्थानीय जनताले घेरेर राखेको अवस्थामा छानबिन गर्दा उनको साथबाट केही पनि नभेटेपछि जिल्ला अदालतका सूचना अधिकृत एवं निर्वाचन अनुगमन समितिको जिम्मामा छाडिएको बताए । डिएसपी तिवारीले भने–‘शान्ति सुरक्षाका हिसाबले केही पनि देखिएन । त्यहाँ जम्मा भएका केटाहरुलाई लखेट्ने काम तत्कालै गरियो । जोसँग पैसा छ भनेर भनिएको थियो, उहाँसँग केही भेटिएन । हामीले वडाध्यक्षलाई अनुगमन समितिको जिम्मा लगाएर हिड्यौं ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराका प्रवक्ता निल पनेरुले उजुरी परेको व्यक्ति वडाध्यक्षको साथबाट रकम नभेटिएको बताए । प्रवक्ता पनेरुले आफूहरु घटना स्थल जाँदैगर्दा प्रहरीले बाटोमै वडाध्यक्षलाई ल्याउँदै गर्दा भेटेको जानकारी दिए । ‘वडाध्यक्षलाई घटनास्थलबाट ल्याउँदै गर्दा हामीले बाटोमा भेटेको हो । प्रहरीले उहाँसंग पैसा भटिएको छैन भन्यो । वडाध्यक्ष ज्युले मेरो खानतलासी गर्नुस् भनेर खाली पर्स देखाउँदै हुनुहुन्थ्यो । प्रहरीले नै छानविन गरेर पैसा छैन भनेपछि हामीले वडाध्यक्षलाई छोडेर फर्किएका हौं’ उनले भने ।

 

  • २९ बैशाख २०७९, बिहीबार ०८:५२ प्रकाशित