एक महीनामा ३ अर्बले घट्यो विदेशी विनिमय सञ्चिति

केन्द्रभाग मिडिया

काठमाडौं ।

चालू आर्थिक वर्ष (आव) को ९ महीनाको अवधिमा विदेशी विनिमय सञ्चिति १६ दशमलव ५० प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउनयता उक्त सञ्चिति २ खर्ब ३१ अर्ब ११ करोड रुपैयाँ घटेको हो । गत वर्षको असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति रहेकोमा चालू आवको चैत मसान्तसम्म ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ ।

यो सञ्चितिले ७।४ महीनाको वस्तु आयात र ६।६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

त्यस्तै गत फागुनसम्म ११ खर्ब ७१ अर्ब रुपैयाँ सञ्चिति थियो । पछिल्लो समय नेपाल राष्ट्र बैंकले विलासिताका वस्तु आयातमा कडाइ गरेसँगै विदेशी विनिमय सञ्चितिमा दवाद कम भएको देखिन्छ । एक महीनाको अवधिमा उक्त सञ्चितिमा ३ अर्ब ८ करोड रुपैयाँ कमी आएको हो ।

  • २८ बैशाख २०७९, बुधबार १६:५३ प्रकाशित