कोलम्बो ।
श्रीलंकाको रक्षा मन्त्रालयले हिंसामा उत्रनेलाई सिधै गोली हान्न आदेश दिएको छ। हिजो मंगलबार साँझ सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने वा कसैको ज्यानलाई खतरामा पार्ने जो कोहीलाई गोली हान्न आदेश जारी गरेको हो।
देशको रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेर्थले सुरक्षा बलहरूलाई सार्वजनिक सम्पत्ति लुट्ने वा जीउज्यानमा क्षति पुर्याउने जोसुकैलाई देख्नेबित्तिकै गोली हान्ने आदेश दिएका हुन् ।
एक दिनअघि मात्रै आन्दोलनकारीको एक समूहले सत्तारुढ दलका नेताहरुको घरमा निशाना बनाएर आगजनी गरेको थियो । राष्ट्रपतिको सरकारी निवास वरपरका क्षेत्रमा समेत आगजनी गरिएको थियो ।
अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा प्रदर्शन हिंसात्मक बन्दै गएको छ र यसले दंगाको रूप लिइरहेको छ ।
श्रीलंकामा इन्धन, खाद्यान्न, औषधि र आधारभूत वस्तुको चरम अभाव छ। आम जनता एक महिनाभन्दा बढी समयदेखि राजापाक्षे परिवारविरुद्ध कोलम्बोको सडकमा उत्रिएका छन् ।
गत सातासम्म अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि पछिल्ला केही दिनदेखि प्रदर्शन हिंसात्मक बन्दै गएको छ ।प्रहरीका अनुसार हिंसात्मक प्रदर्शनमा हालसम्म आठ जनाको मृत्यु भएको छ । हिंसात्मक प्रदर्शनमा कूल २०० जना घाइते भएका छन्।