काठमाडौं ।
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा सहभागि हुने नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र बाँडिने भएको छ । वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानमा उमेर पुगेका बालिगलाई मतदानको अधिकार सुनिश्चित गर्न आज र भोलि मतदाता परिचयपत्र बाँडिने भएको हो ।
यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदानमा भाग लिन पाउनेछन् ।
मतदान गर्न मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ । अघिल्लो निर्वाचनमा वितरण भएको मतदाता परिचयपत्रबाटै मतदान गर्न पाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
हराए वा नष्ट भएकाको हकमा के हुन्छ ?
निर्वाचन आयोगले गत फागुन ५–२० गतेसम्म परिचयपत्र नष्ट भएको वा हराएको भए वडा कार्यालयको सिफारिसमा प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन मतदातालाई आग्रह गरेको थियो । आयोगले दिएको समयमा निवेदन दिएका त्यस्ता मतदाताले मतदाता परिचयपत्रको प्रतिलिपि पाउने प्रवक्ता शर्माले जानकारी दिए ।