दाङ ।
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् ।
मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ । अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी भएको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। उनका अनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ ।
बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएको बताइएको छ ।