गण्डकीका २३ सय मतदान केन्द्रमा झण्डै २० हजार कर्मचारी परिचालन

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लामा रहेका ८५ स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, त्यस अन्तर्गतका वडाध्यक्ष वडा सदस्य चयन गर्ने निर्वाचनका लागि झण्डै २० हजार कर्मचारी परिचालन गरिएको छ ।

कुल १ हजार २ सय ५३ मतदानस्थलमा २ हजार ३ सय मतदान केन्द्र तोकिएको र ति सबै केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारी पुगिसकेको प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रदेश निर्वाचन अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । गण्डकीमा पोखरा महानगरपालिका सहित २६ नगरपालिका, ५८ गाउँपालिका, ७ सय ५९ वडा छन् ।

कर्मचारीले ६४ प्रकारका निर्वाचन सामग्री बुझेर मतदानस्थलतर्फ गएका हुन् । कर्मचारीहरु बुधबारसम्म मतदानस्थलमा पुगेर त्यहाँको आवश्यक तयारी गर्ने कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

कर्मचारीले स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतपेटिका, मतपत्र, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसर लगायतका ६४ प्रकारका सामान सहित मतदान केन्द्र पुगेका हुन् ।

  • २८ बैशाख २०७९, बुधबार ०९:१८ प्रकाशित