मौन अवधि सुरु : आचारसंहिता विपरितको कार्य नर्गन आयोगको आग्रह

केन्द्रभाग मिडिया

काठमाडौं ।

मंगलबार मध्यरातीबाट मौन अवधि सुरु भएको छ ।

स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा मौन अवधि सुरु भएको हो । यो अवधिमा कुनै पनि राजनितिक दलले चुनावी प्रचारप्रसार गर्न पाउनेछैनन्। मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । निर्वाचन ​आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार(प्रसारका सामग्री हटाउन निर्देशन दिएको छ ।

निर्वाचनको मौन अवधि अगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ। सामाजिक सञ्जालमा रहेका आचारसंहिता विपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ।

नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ। एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् ।

के गर्न पाइँदैन ?

-मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाईदैन ।

-निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

-मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

-एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

-मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने

  • २८ बैशाख २०७९, बुधबार ०८:३५ प्रकाशित