पोखराका कांग्रेस कार्यकर्तालाई ओलीको सुझाव : सूर्यमा भोट हाल्नु अनि एमाले प्रवेश गर्नु

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिले अहिले र नमिले ३० वैशाखमा सूर्यमा भोट हालेर एमालेमा प्रवेश गर्न कांग्रेस कार्यकर्तालाई सुझाव दिएका छन् । पोखरामा एमालेले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

कांग्रेसका नेताले कांग्रेसलाई नीतिहिन र गतिहिन बनाएको उनले बताए । विगतमा नेता कृष्ण प्रसाद भटराई र गणेशमान सिंहले यत्तिकै पार्टी नछाडेको उनले टिप्पणी गरे । अहिलेको अवस्था विगतमा जस्तो नभएको भन्दै कांग्रेस कार्यकर्तालाई पहिले सूर्यमा भोट हाल्न अनि  एमालेमा प्रवेश गर्न सल्लाह दिएका हुन् ।

‘विगतमा कृष्ण प्रसाद भट्टराईले र गणेशमानले यतिकै कांग्रेसले छाडेको होइन । विपि कोइराला पनि अहिले हुनुहुन्थ्यो भने मैले पोहोर नै भनेको थिएँ उहिलेको कांग्रेस रहेनछ, अहिलेको कांग्रेसमा बस्न सकिँदैन भनेर छाड्नुहुन्थ्यो । अब देश बनाउने कुराको नीति मिसन र भिजन, कार्यक्रम योजना भएको पार्टी एमाले छ । म कांग्रेसका कार्यकर्तालाई भन्न चाहन्छु । मिल्छ अहिल्यै आउनुहोस् । मिल्दैन ३० गते एमालेमा भोट हालेर जिताउनुहोस् र त्यसपछि एमालेमा आउनुहोस् ।’

माओवादी केन्द्रका कार्यकर्तालाई पनि उलने एमालेमा आउन र माओवादी केन्द्रमा नअल्मिलिन सुझाव दिए । ओलीले माओवादी केन्द्र केन्द्र नाम भएपनि रित्तिएको टिप्पणी गरे । ‘कहाँ गयो माओवादीको प्रचण्ड पथ ? तपाईहरु जो त्यहाँ हुनुहुन्छ एमालेमा आउनुहोस् ।’ त्यसैगरी उनले एकीकृत समाजवादीमा लागेका नेता कार्यकर्तालाई पनि माधव नेपालले अल्मल्याएको भन्दै नअल्मिलन आग्रह गरे ।

  • २६ बैशाख २०७९, सोमबार १७:०२ प्रकाशित