ठगी आरोपमा प्रहरी हिरासतमा रहेका इच्छाराज तामाङको सीटीसी मल लिलामीमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

ठगी आरोपमा प्रहरी हिरासतमा रहेका इच्छाराज तामाङको सीटीसी मल लिलामी हुने भएको छ ।

काठमाडौंको सुनधारास्थित सीटीसी मल लिलामी हुने भएको हो । मल निर्माणका लागि लिइएको ऋण नतिरेपछि कर्मचारी सञ्चयकोषले उक्त मल लिलाम बिक्री गर्ने भएको हो । सोमबार एक सूचना जारी गर्दै कोषले ३५ दिने सार्वजनिक लिलामीको सूचना जारी गरेको छ ।

घरजग्गा व्यवसायी इच्छाराज तामाङको सो मलमा ५० प्रतिशत सेयर रहेको छ । कुल ८२ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त मलमा १३२ ओटा सटरहरू रहेका छन् ।

कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिँदा समेत ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि र जमानीकर्ताहरू कोही पनि ऋण चुक्ता गर्न नआएपछि कोषले धितोको रूपमा रहेको महल नै लिलामी प्रक्रिया अघि बढाएको हो । कोषले गत मङ्सिर ६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण तिर्न मललाई ताकेता गरेको थियो ।

सिभिल स्टेट्सले कोषबाट ऋण लिन सुनधारास्थित कित्ता नम्बर २४२४ को ६ रोपनी जग्गा, त्यसमा बनेको ८२ हजार ९५ वर्ग फिट क्षेत्रफलको भवन र भवन भित्र सञ्चालनमा रहेका १३२ ओटा सटरहरू नै धितो राखिएको थियो ।

  • २६ बैशाख २०७९, सोमबार १४:०८ प्रकाशित