काठमाडौं ।
नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा. आरजु राणा र माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिएको छ ।
पार्टीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.प्रकाशशरण महतले आरजुको अभिव्यक्तिमा स्पष्टीकरण दिंदै भने, ‘कांग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । तपाईंहरुको विकास सुनिश्चित गर्नुभएको होला । अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ ।’
प्रधानमन्त्री पत्नी आरजुले डडेलधुरामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीले नजितेको ठाउँमा बजेट पठाउँदैनौं भनेको भिडियो भाइरल भएको थियो ।
यस्तै कांग्रेस प्रवक्ता महतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिको पनि बचाउ गरेका छन्।
चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त चुनावी सभामा बोल्ने क्रममा प्रचण्डले गठबन्धनले नजिते देश दुर्घटना जान्छ भन्दै भाषण गरेका थिए । सो भाषणको पनि निकै आलोचना भएको थियो ।
गठबन्धन टुटेर एमालेकै सरकार आएमा अवस्था खराब हुने आशयमा प्रचण्डले विचार व्यक्त गरेको महतले बताए । ‘ओलीको सरकार आएर खराब हुन्छ भन्न त मिल्छ नि । त्यो सोच्नुस् भन्नुभएको हो ।’उनले भनेका छन्














