पाँच दलीय गठबन्धन टाउको नभएका मुर्कुट्टा हुन् : पूर्व गृहमन्त्री अधिकारी

केन्द्रभाग मिडिया

पोखरा।

पूर्व गृहमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले पाँच दलीय गठबन्धन टाउको नभएको मुर्कुट्टा भएको बताएका छन् ।

पार्टीले पोखरा ६ मा आयोजना गरेको चुनाव लक्षित भेलालाई सम्बोधन गर्दै अधिकारीले गठबन्धनसँग कुनैै भिजन नभएको आरोप लगाउँदै मुर्कुट्टाको संज्ञा दिएका हुन् । ‘५ दलीय गठबन्धनसंग विकास तथा योजनाको कुनै भिजन छैन ।’ उनले भने, ‘उनीहरु टाउको नभएको मुर्कुट्टा हुन् ।’

अधिकारीले अबको सरकार एमालेको नै हुनुपर्ने समेत बताए । उनले आम नागरिकको समस्यालाई उनीहरुले दर्साउनुभन्दा अगाडि समाधान गर्ने पार्टी भएको दावी गरेका हुन् ।

भेलामा स्थायी कमिटी सदस्य अधिकारीले मर्दी नदीको मुहानको पानी पोखरामा शुद्धीकरण गरेर मात्र ल्याउनुपर्छ भन्ने अडान आफूले राखेको दावी समेत गरेका छन् । ‘त्यो समयमा अन्य विपक्षी दलका नेताले मर्दीको पानी पोखरामा शुद्धीकरण नगरेर नै लैजाने भनिरहेका थिए ।’ उनले भने, ‘मेरै पहलमा शुद्धीकरण गरेर ल्याउने सहमति भएको थियो ।’

पोखराको लेकसाइडलाई समेत उनले सफा र स्वच्छ बनाउने पहल गर्ने बताएका छन् । ‘पोखराको फेवातालमा अब माछापुच्छ«ेको छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं ।’ उनले भने, ‘तालमा रहेका फोहोरलाई सफा गर्ने हाम्रो लक्ष्य हो ।’

एमालेका स्थायी कमिटी सदस्य समेत रहेका अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यथाशीर्घ सञ्चालन गर्ने बताए । अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा सञ्चालनमा ल्याउने आफूहरुको योजना रहेको समेत उनले बताएका छन् ।

भेलामा एमालेका तर्फबाट पोखरा महानगरपालिकामा मेयरका उमेद्वार कृष्ण थापाले ५ दलीय गठबन्धनले मुलुकलाई २०५९ सालमा धकेल्न खोजेको तर एमालेले रोकेको बताए । ‘गठबन्धनले मुलुकलाई २०५९ तर्फ धकेलिसकेको थियो, तर एमालेले रोकेर ट्रयाकमा ल्याएको हो ।’ उनले भने

भेलामा उमेद्वार थापाले आफूले जारी गरेको घोषणापत्र अक्षरशः पालना गर्ने प्रतिवद्धता व्यक्त गरे । थापाले लेकसाइडलाई २४ घण्टा नै खुल्ला गरेर विश्वकै पर्यटकीय हब बनाउने प्रतिवद्धता व्यक्त गरे । पोखराको जिरो किमीबाट कोत्रेसम्म ६ लेनको सडक निर्माण गर्ने, फेवातालाई शुद्धीकरण गरेर व्यवस्थित गर्ने, पोखराको खानेपानी आयोजनालाई मेलम्चीभन्दा ठूलो आयोजना बनाउने, पोखराको सार्वजनिक स्थानमा पार्क निर्माण गरिने समेत उनले बताए ।

पार्टीको तर्फबाट उपमेयरको उमेद्वार मञ्जुदेवी गुरुङले आम मतदाता तथा पोखरेलीको आर्शीवादले आफू फेरी उपमेयरको पदमा आएको बताइन् । न्यायिक समितिको प्रमुख भएको नाताले पोखरामा धेरै समस्या समाधान भएको बताइन् । ‘न्याय नपाए गारेखा जानु भन्ने भनाई प्रचलित थियो । तर अब न्याय नपाए पोखरा जानु भन्ने गरिन्छ ।’ उनले भनिन् ।

कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय सदस्य भरत पहारी, प्रदेश पहारी राजीव पहारी, पर्यटन व्यवसायी, भुमि त्रिपाठी, वडाध्यक्षका प्रत्यासी विष्णुबहादुर भट्टराई, साविक पोखरा नगरपालिकाका पूर्व उपमेयर कुलबहादुर गुरुङ लगायतले बोलेका थिए । त्यस्तै भेलाको सञ्चालन पार्टीको वडा सचिव उमा भण्डारी रेग्मीले गरेकी थिइन् भने समापन पार्टीका वडाध्यक्ष बलराम पहारीले गरेका थिए ।
भेलामा थप उर्जा प्रदान गर्न राष्ट्रिय जनसांस्कृतिक महासंघका टोलीसहित लोकगायक प्रजापति पराजुली, तारापति सुवेदी, सरला पाण्डे, लक्ष्मी सुनार, जीवन दाहाल, माया गिरी, बुद्धि खनाल, जगन गुरुङ र शीतला अधिकारी लगायत आ–आफ्नो प्रस्तुती दिएका थिए ।

  • २५ बैशाख २०७९, आईतवार १७:१५ प्रकाशित