काठमाडौं ।
नेपालले चालु आर्थिक वर्षको नौ महिनामा सवा दुई करोडको अचार निर्यात गरेको छ ।
उत्पादित अचारको खपत बढी मात्रामा आन्तरिक बजारमै हुने भए पनि विदेशसमेत निर्यात हुन थालेको भन्सार विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनामा झन्डै सवा २ करोड रुपैयाँको अचार बाहिरिएको छ, जसमा लप्सी, मुला, गाजर, अकबरे खुर्सानीका अलावा बफ, चिकेन, माछाको समेत अचार निर्यात भएको छ ।
यस अवधिमा ३५ हजार ४ सय २७ किलो अचार निर्यात भएको विभागले जनाएको छ, जसको बजार मूल्य २ करोड १४ लाख २४ हजार रुपैयाँ छ । गत वर्ष ३९ लाख २२ हजार रुपैयाँ बराबरको ११ हजार ४४ किलो मात्र अचार निर्यात भएको थियो । गत वर्ष जापान मात्र निर्यात भएको नेपाली अचार यस वर्ष अस्ट्रेलियामा पनि पुगेको विभागले बताएको छ ।