मतदानको दिन पास लिएका गाडी मात्रै चल्ने, सार्वजनिक र निजी गाडी चल्न नपाउने

केन्द्रभाग मिडिया

काठमाडौं ।

चुनावको मुख्य दिन आउँदो ३० गते पास लिएका गाडी मात्रै चल्न पाउने भएको निर्वाचन आयोगले जनाएको छ । प्रशासनको अनुमति अनुमति प्राप्त बाहेकका सार्वजनिक र निजी गाडी चलाउन नपाइने आयोगले बताएको छ।

आयोगले मतदानको दिन गाडी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९ लागू गरेको छ । उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले मतदानको दिन गाडी चलाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा गाडी नम्बर, प्रयोगकर्ताको नामसहित पासका लागि २८ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ ।

हवाई उडानको यात्रामा पासपोर्ट, भिसा र टिकटका आधारमा विमानस्थल र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आवागमनको सहजीकरण काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले मिलाउने उल्लेख छ । मतदानको दिन अशक्त व्यक्तिको लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको गाडीको प्रयोग गर्न सकिनेछ ।

एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दुरसञ्चार, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ । पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र दिने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ

  • २३ बैशाख २०७९, शुक्रबार १०:२२ प्रकाशित