हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जानसक्छ : प्रचण्ड

केन्द्रभाग मिडिया

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जाने बताएका छन् । विहीबार भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने बताएका हुन् ।

चुनावी सभामा कांग्रेस नेताहरूले गठबन्धनको निरन्तरताका बारेमा राखेको प्रश्नहरुको जवाफ दिदैं अध्यक्ष दाहालले भनेका छन्, ‘तपाईंहरूले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जान्छ । भरतपुरमा रेनु र चित्र सेनको टिमले जित्यो भने म उत्साही हुनेछु । १०–१५–२० वर्ष गठबन्धन लैजान प्रयास गर्नेछु । तपाईंहरूले नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जानसक्छ ।’

त्यस्तै अध्यक्ष दाहालले भरतपुरमा स्वतन्त्र उम्मेदवारलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तिममा ‘भोट खन्याइदिने’ आश्वासन दिएको दाबी गर्दै भनेका छन्, ‘केपीले स्वतन्त्र उम्मेदवारलाई अडिनुस् है भनेका छन् रे । अन्तिममा एमालेको सबै भोट खन्याइदिउँला भनेका छन् रे । केपीका भनाइको भर नपर्नुहोला ।’

आफूमाथि शंका नगर्न आग्रह गर्दै अध्यक्ष दाहालले भने, ‘युद्धलाई शान्तिमा, शान्तिलाई संविधानसभामा र संविधानसभालाई लोकतान्त्रिक गणतन्त्रमा लैजाने पात्र मै हो । हामीले यो गठबन्धन सोचे विचार गरेरै बनाएका छौं । यसलाई जोगाएर जानुको विकल्प छैन ।’

  • २२ बैशाख २०७९, बिहीबार १८:२० प्रकाशित