नेपाललाई अमेरिकाको ७९ अर्ब ७१ करोड अनुदान

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाललाई अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग गर्ने भएको छ । मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले सो अनुदान सहयोग गर्ने भएको हो ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी)का निर्देशक सेपिदेह केवंशद र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्यालले हस्ताक्षर गरेका छन्।

निर्देशक केवंशदले पाँच वर्षसम्म सञ्चालन हुने यो सहायता सम्झौताले अमेरिका र नेपालबीचको सहयोग र सहकार्यको बृहत् विकास क्षेत्रको रूपरेखा प्रस्तुत गरेको र यसले नेपालको सामाजिक–आर्थिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरे।

अर्थ मन्त्रालयलका सहसचिव अर्यालले अमेरिकी सहयोगबाट सुदृढ लोकतान्त्रिक शासन, उद्यमशील आर्थिक वृद्धि, प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको प्रतिरोधात्मक क्षमता बढाएर नेपालको दिगो विकासमा टेवा पुग्ने बताए।

  • २२ बैशाख २०७९, बिहीबार १६:२२ प्रकाशित