उत्तर कोरियामा खडेरी :सरकारले खेतीका लागि अफिसका कर्मचारीलाई खेतमा खटायो

केन्द्रभाग मिडिया

सोउल ।

उत्तर कोरियामा सरकारले खडेरीसँग लड्न अफिसमा काम गर्ने कर्मचारीहरुलाई खेतको काममा खटाएको छ ।

खडेरीले आक्रान्त बनेको उत्तर कोरियाले अहिले यस समस्याको समाधान स्वरुप कर्मचारीहरुलाई देशव्यापी रुपमा खेतबारीमा खटाएको हो । हालको खडेरी लामो समयसम्म रहन सक्ने हुँदा खाद्यान्न अभावको चिन्ताका कारण यस्तो उपाय लगाइएको उत्तर कोरियाको सरकारी मिडियाले बुधबार रिपोर्ट गरेको हो ।

गत वर्ष पनि उत्तर कोरियाली प्रमुख किम जोङ उनले देशको खाद्य अवस्थामा सुधार ल्याउन आवश्यक नीतिहरु कार्यन्वयन गर्न अपील गरेका थिए । कोरोना महामारी र प्राकृतिक प्रकोपका कारण नै खाद्यान्न भण्डारणमा समस्या भइरहेको उनले स्वीकारेका थिए ।

लामो समय अगाडिदेखि नै खडेरी र बाढी उत्तर कोरियाका लागि गम्भीर चुनौति मानिँदै आएको छ । खेतीमा व्यवस्थित सिँचाइ प्रणाली लगायत आवश्यक संरचनाहरुको अभावका कारण पनि त्यहाँ हरेक वर्ष यस्तो समस्या हुने गरेको छ । पहिले नै अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको उत्तर कोरियाको अर्थतन्त्रका लागि यो थप घातक साबित हुने निश्चित छ ।

  • २२ बैशाख २०७९, बिहीबार १०:५० प्रकाशित