नमूना मतदानमै मत बदर

केन्द्रभाग मिडिया

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा तीन मत बदर भएको मतदान अधिकृतको भूमिका निर्वाह गरेका शाखाका पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेलले जानकारी दिए । नगर क्षेत्रमै मत बदर हुनु दुःखद् रहेको भन्दै उहाँले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

 

नमूना मतदानमा ६१ जनाले मत दिएका थिए । निर्वाचन कार्यालका प्रमुख हरिप्रसाद ढकालले मतदाता शिक्षा प्रभावकारी बनाउन राजनीतिक दल र उम्मेदवार पनि लाग्नुपर्ने बताए ।

मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिँदै उनले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदानस्थसम्म पुग्ने वातावरण निर्माण गरिने उनको भनाइ थियो ।

  • २० बैशाख २०७९, मंगलवार १२:५७ प्रकाशित