बुद्ध जयन्तीमा नेपाल आउदै मोदी

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् ।

हिन्दूले लेखेको छ, ‘सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।’

मोदी बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा हुने समारोहमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदी सहभागी हुने सम्भावना छ ।

एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसैले मोदीको नेपाल भ्रमणको क्रममा द्विपक्षीय कुराकानी नहुने हिन्दूको समाचारमा उल्लेख छ ।

नेपाल र भारतीय अधिकारीहरुले मोदीको भ्रमणको चाँजोपाँजो मिलाइरहेका छन् । स्रोतका अनुसार देउवा र मोदी मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन् । उनी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी ओर्लिने छन् ।

तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेको छैन ।

  • २० बैशाख २०७९, मंगलवार ०८:५३ प्रकाशित