बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयर बासुदेव घिमिरेले आफूलाई कारबाही गरेर देखाउन निवार्चन आयोगलाई चुनौती दिएका छन् । मेयर पदमा बहाल रहेरै एमालेको चुनाव प्रचारमा सक्रिय घिमिरेले पत्रकार सम्मेलन गर्दै यस्तो चुनौती दिएका हुन् ।
निर्वाचन आचारसंहिता विपरीत उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेका छन् । उनी दिनहुँ एमाले उम्मेदवार मोहन चापागाईं र जागेश्वरीदेवी चौधरीकोे चुनाव प्रचारमा खटिएका छन् ।
एमाले निर्वाचन प्रचारप्रसार कमिटीले आइतबार राति आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूले आचारसंहिता उल्लंघन गरेवापत् कारबाही गर्न निर्वाचन आयोगलाई चुनौती दिए । उनले भने, ‘मैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको छु, पार्टीको निर्वाचन परिचालन कमिटीको संयोजक बनेको छु, मैले आचारसंहिता उल्लंघन गर्दा कारबाही गर्न सके गरे हुन्छ ।’














