काठमाडौं ।
सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको बताइएको छ । गृहमन्त्री बालकृष्ण खाँण चाहिँ वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा थिए । तर अन्तिममा बालुवाटारकै अडानमा सिंह आईजीपीमा नियुक्त भएको बताइएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसका केही नेताहरु रुष्ट थिए र विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो ।
सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत थिए । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।