काठमाडौं ।
निर्वाचन आयोगले पालिका चुनावका लागि लागू गरेको आचारसंहिता उल्लङ्घन गरेको भन्दै राजनीतिक दल र नेतालाई सचेत गराएको छ ।
नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला, गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको नाम नै किटान गरि आयोगले आचारसंहिता कार्यान्वयनप्रति सजग गराएको छ । साथै आचारसंहिता उल्लङ्घन नगर्न निर्देशन समेत दिएको छ ।
२०७४ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारले पच्चीस लाख रुपैयाँसम्म खर्च गर्न सक्ने भए पनि प्रतिनिधि सभा सदस्य नवलपरासी ९बर्दघाट सुस्तापूर्व० निर्वाचन क्षेत्र १ बाट निर्वाचित कांग्रेसका उम्मेदवार शशाङ्क कोइरालाले पेस गरेको खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ आयोगमा रहेको अभिलेखबाट देखिएको तर कोइरालाले आफूले ६ करोड खर्च गरेको अभिव्यक्ति दिएका थिए ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले पनि निर्वाचन आयोगले तोकेकोभन्दा बढी खर्च भएको र खर्चको गलत विवरण बुझाएको अभिव्यक्ति दिएका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलले गएको चैत २६ गते काठमाण्डौको भृकुटीमण्डपमा गरेको सभामा आचारसंहिता प्रतिकूल दलको झन्डा र बालबालिकाको प्रयोग गरेको विषयमा आयोगले छानबिन गरी आचारसंहिता विपरीत काम भएको ठहर समेत गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले पनि आचारसंहिता उल्लङ्न गरेको भन्दै आयोगले सचेत गराउने निर्णय गरेको छ । माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ समेतको फोटो राखिएको चुनावी पोस्टर तयार गरी, प्रचारप्रसार गरिएको बारेमा आयोगले छानबिन गरेको थियो।
आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि आचारसंहिता उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ । राप्रपाले चैत २७ गते हेटौँडामा गरेको कार्यक्रममा आचारसंहिता प्रतिकूल गतिविधि गरेको आयोगको ठहर छ ।













