मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसोच्नु : प्रमुख निर्वाचन आयुक्त थपलिया

केन्द्रभाग मिडिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय निर्वाचनमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका स्थानमा दुवै उम्मेदवारी बदर गरिएको बताएका छन् ।

आम निर्वाचन पर्यवेक्षक समिति नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय तथा जिल्लास्तरीय निर्वाचन पर्यवेक्षकहरुका अभिमुखीकरण कार्यक्रममा थपलियाले कानूनमा स्पष्ट रुपमा ५० प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था भएपनि ऐनको दफालाई नजरअन्दाज गरेर दिएको उम्मेद्वारी भएकाले दुवै उम्मेदवारी बदर गरिएको बताएका हुन् । उनले कम्तीमा एक तिहाई महिलाको उम्मेदवारी दिन भनिएकोमा यसपटक २०७४ सालको भन्दापनि घटाएर महिला उम्मेदवार उठाइएको बताए ।

उनले प्रचारप्रसारका सामग्रीहरु बनाउँदा पनि आरोप, प्रत्यारोप र अवाञ्छित गतिविधिका सामग्रीहरु प्रसारित गर्न नहुनेतर्फ पनि सचेत गराए । प्रमुख निर्वाचन आयुक्त थपलियाले स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरुले मतपत्र कडा कागजमा छोपिएकाले च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गरे । उनले विगतमा भएका गल्तीका कारण निर्वाचन आयोगमाथि बत्ती निभ्छ कि निभ्दैन जस्ता आरोपहरू लागिरहेको भन्दै लोकतन्त्रमा विश्वास गरेर उम्मेदवारी दिने दल र उम्मेदवारहरूलाई मतपत्र च्यातेर र चपाएर जित्छु भन्ने सोचबाट मुक्त हुन आग्रह गरे ।

प्रमुख आयुक्त थपलियाले यस वर्ष आयोगले निर्वाचनको तयारी गरिरहँदा निर्वाचनको समयमा उम्मेदवारीमा लचकता अपनाउने र प्रचारप्रसारमा कठोरतालाई नछोड्ने संकल्प लिएको बताए । उनले आयोगले स्थानीय तह निर्वाचनका लागि गरिएका उम्मेदवारी दर्ताले स्थानीय तहमा निर्वाचित हुनुपर्छ र नेतृत्व गर्नुपर्छ भन्ने भावना नागरिकमा देखिएको महशुस भएको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले विभिन्न राजनीतिक दलका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिँदा धम्की, त्रास र चेतावनी दिएको गोप्य सूचना आइरहेको भन्दै त्यो सैह्य नहुने बताए ।

  • १६ बैशाख २०७९, शुक्रबार १८:३० प्रकाशित