काठमाडौं ।
उम्मेदवारी फिर्ता लिन चाहाने उम्मेदवारले आज साँझसम्म उम्मेदवारी फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
नाम फिर्ता लिन चाहनेहरू बेलुकी ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ । त्यसपछि भने आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ । राजनीतिक दलहरूले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन दबाब दिँदै आएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।
विपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बागी उम्मेदवारी दिएका नेताहरूलाई फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा जिताउन आग्रह गरेका छन् ।













