नेपालीको प्रतिव्यक्ति आय १ हजार ३७२ डलर पुग्यो

केन्द्रभाग मिडिया

काठमाडौंँ ।
नेपालीको वार्षिक आम्दानी बढेर १ हजार ३७२ डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थतन्त्र विस्तारसम्बन्धी विवरणमा प्रतिव्यक्ति आय बढेको उल्लेख छ ।

गत वर्ष प्रतिव्यक्ति आय १ हजार १९१ डलर थियो । गत वर्षको तुलनामा यो वर्ष नेपालीको आम्दानी १८१ डलर बढेको विभागले सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकमा उल्लेख छ । प्रतिव्यक्ति आय नेपाली रुपैयाँमा १ लाख ६४ हजार पुगेको छ ।

विभागका अनुसार पाँच वर्षअघि नै करिब १ लाख २० हजार रुपैयाँ हारहारी रहेको नेपालीको प्रतिव्यक्ति आय यो वर्ष आएर १ लाख ६७ हजार रुपैयाँ पुगेको हो । चालू आर्थिक वर्षमा एकैपटक १ सय ८१ डलरले बढेर १ हजार ३ सय ७२ डलर पुगेको र यसअघि २०७४ / ७५ मा एकैपटक १ सय २९ डलर बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

आर्थिक वर्ष २०६९/७० मा ८ सय १४ डलर रहेको नेपालीको प्रतिव्यक्ति आय एक दशकमा ५ सय ५८ डलर बढेको छ । आर्थिक वर्ष २०७३/७४ पहिलोपटक १ हजार डलर नाघेको थियो ।

२०७४/७५ मा १ हजार १ सय ३८ डलर, २०७५/७६ मा १ हजार १ सय ५९ डलर, २०७६/७७ मा १ हजार १ सय २६ डलरमा झरेको प्रतिव्यक्ति आय २०७७/७८ मा भने १ हजार १ सय ९१ डलर पुगेको र अहिले १ हजार ३ सय ७२ डलर पुगेको हो ।

नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष ३७ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष जीडीपीको आकार ३ खर्ब ७२ अर्ब २७ करोड रुपैयाँले बढेको छ ।

  • १६ बैशाख २०७९, शुक्रबार ०८:४४ प्रकाशित