काठमाडौं ।
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सुरक्षा प्रयोजनका लागि सरकारले म्यादी प्रहरी परिचालन गरेको छ । हालै भर्ना गरिएका म्यादी प्रहरी ४० दिनका लागि परिचालन हुनेछन् ।
प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार काठमाडौँ उपत्यका सहित ७ प्रदेशमा ९९ हजार ९९३ जना म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाका लागि खटाइएको छ ।
जसमध्ये काठमाडौं उपत्यकाको ३ जिल्लामा ४ हजार ७११, प्रदेश १ का १४ जिल्लामा १७ हजार ४२१, मधेस प्रदेशका ८ जिल्लामा २१ हजार, बागमती प्रदेशका १० जिल्लामा १२ हजार १८६, गण्डकी प्रदेशका ११ जिल्लामा १० हजार ९३३ , लुम्बिनी प्रदेशका १२ जिल्लामा १५ हजार ८२८, कर्णाली प्रदेशको १० जिल्लामा ७ हजार ७५३, सुदूरपश्चिमको ९ जिल्लामा १० हजार १६१ म्यादी प्रहरी परिचालन भएका छन् ।
नेपाल प्रहरीले १ लाख म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९९३ जना छनोट गरेर तालिम दिइएको थियो ।