रातारात फाइल गायब पार्दै उपमेयरको उम्मेदवार परिवर्तन गरेपछि ….

केन्द्रभाग मिडिया

सप्तरी ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा उपमेयरको उम्मेदवार परिवर्तन भएपछि लफडा भएको छ । उपमेयर पदमा नेकपा एमालेबाट मनोनयन दर्ता गराएकी उम्मेदवारको फाइल रातारात गायब गर्दै अर्कै उम्मेदवारलाई खडा गरेको आरोप लगाउँदै अन्य दलले विरोध गरेका छन् ।

एमालेले उपमेयरको उम्मेदवारको रुपमा असरादेवी चौधरीले समय सीमाभित्रै मनोनयन दाखिला गरेकोमा उनको उम्मेदवारी बदर हुने देखिएपछि रातारात उनको फाइल हटाएर निर्वाचनमा खटिएका कर्मचारीले अर्कैको नाम बाहिर ल्याएको उनीहरुको आरोप छ ।

उनीहरुले प्रेस विज्ञप्ति निकाल्दै उपमेयर पदमा मनोनयन दाखिला गरेकी असरा चौधरीको उम्मेदवारी समानुपातिक सूचीमा रहेको थाहा पाएपछि निर्वाचन अधिकृत हिमालय बरालले एमाले नेताको इसारामा मध्य रातमा उम्मेदवार परिवर्तन गरेको अन्य दलका उपमेयरका उम्मेदवारहरुले आरोप लगाएका छन् ।

उपमेयरका उम्मेदवारहरु नेपाली कांग्रेसकी मुना पोखरेल, नेकपा माओवादी केन्द्रका बन्सी चौधरी, जनमत पार्टीकी सम्झना राणा, जसपा नेपालकी कल्पना चौधरी, नेकपा (एकीकृत समाजवादी)की होमकुमारी पोखरेलले मध्यरातमा भएको गतिविधि खारेज गर्न माग गर्दै निर्वाचन अधिकृत समक्ष निवेदन दिएका छन् ।

उनीहरुले निर्वाचन कार्यालयबाट भइरहेको यस्ता किसिमका गतिविधि अविलम्ब रोक्न, मध्यरातमा दाखिला गरिएको उम्मेदवारी खारेज गर्न, दोषीलाई कारबाही गर्न माग गरिएको छ । मागको सुनुवाइ नभए निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ ।

  • १३ बैशाख २०७९, मंगलवार १६:०२ प्रकाशित