कांग्रेसको घोषणापत्र बकवास र गालीको दस्ताबेज : ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्ताबेज भएको टिप्पणी गरेका छन् । ओलीले कांग्रेसको घोषणापत्रलाई राजनीतिक दस्ताबेज भन्न नसकिने तर्क गरे ।

२३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार बिहान सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई गाली गरेको र उत्ताउलो विकास गरेको आरोप लगाएको बताए ।

‘राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले नेपाली कांग्रेसले चुनावी घोषणापत्र भनेको त्यो राजनीतिक दस्ताबेज होइन । जम्माजम्मी धारे हात लगाएको छ, एमालेलाई । ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो ?’, उनले भने, ‘यस्तै यस्तै बकवास र गालीगालैच घोषणापत्रमा दर्जानौँ ठाउँमा नाम किटेर तथानाम गाली गरेको छ । राजनीतिक विश्लेषण छैन । शब्द थुपारी के हुन्छ ?’

कांग्रेसले कतै जित्न सक्ने अवस्थामा नभएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष र एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको वैशाखी टेकेर अघि बढ्न खाजेको आरोप समेत ओलीले लगाएका छन् ।

कांग्रेसको राजनीति भनेकै एमालेले गरेको विकासका कामको विरोध गर्नेमात्र भएको तर्क दिएका ओलीले गठबन्धनको एकताको आधार कुनै राजनीतिक नभएर एमालेको आरिसमात्र रहेको बताएका छन् ।

 

  • १३ बैशाख २०७९, मंगलवार १२:०३ प्रकाशित