पेरिस ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन पुन : राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
इम्यानुएल दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । आइतवार सम्पन्न दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा अति–दक्षिणपन्थी उम्मेदवार मरीन ल पेनलाई पराजित गर्दै म्याक्रोन दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
४४ वर्षीय म्याक्रोन पछिल्लो दुई दशकमा पुनः निर्वाचित हुने पहिलो राष्ट्रपति बनेका छन् ।इप्सोस पोलिङ इन्स्टिट्युटका अनुसार म्याक्रोनले ५८.८ प्रतिशत मत प्राप्त गरेका छन् । यस पटक उनले पाएको मत अघिल्लो पटकको भन्दा कम हो । सन् २०१७ मा पहिलो पटक राष्ट्रपतिमा निर्वाचित हुँदा म्याक्रोनले ६६.१० प्रतिशत मत प्राप्त गरेका थिए ।
म्याक्रोनसँग दोस्रो पटक पराजित ल पेनले अघिल्लो पटकको तुलनामा झण्डै सात प्रतिशत बढी मत पाएकी छन् । उनले यस पटक ४१।२ प्रतिशत मत प्राप्त गरेकी छन् ।
अन्तिम मतपरिणाम घोषणा हुन भने बाँकी छ ।