मनोनयन दर्ताको आज अन्तिम दिन, यस्तो छ निर्वाचन कार्यतालिका

केन्द्रभाग मिडिया

काठमाडौं ।

आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयन दर्ता आज पनि हुदैँछ । आज दोस्रो अर्थात अन्तिम दिन ठुला राजनितिक दलहरुले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।

आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको छ ।देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको र केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेकाले यसपाली उम्मेदवारको मनोनयन दुई दिन राखिएको आयोगको बताएको छ ।

कानुनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।

सोमबार साँझ नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ ।

मनोनयनसँग सम्बन्धित सम्पूर्ण कार्य सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने आयोगले जनाएको छ ।

  • १२ बैशाख २०७९, सोमबार ०८:३९ प्रकाशित