आजदेखि ठेकेदारले रोके काम : पाँच हजार निर्माण परियोजना ठप्प

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्माण व्यवसायीहरूले आजबाट निर्माण परियोजना काम ठप्प पारेका छन् ।विभिन्न माग राख्दै आन्दोलित बनेका नेपाल निर्माण व्यवसायी महासंघ नेतृत्वका ठेकेदारहरुले कन्स्ट्रक्सन होलिडे गर्दै निर्माणको काम बन्द गरेका हुन् ।

निर्माण सामग्रीमा बढेको मूल्यानुसार परियोजनाको बजेट समायोजन गर्नुपर्ने मागसहित व्यवसायीहरू आन्दोलित भएका हुन् । मूल्यवृद्धि सम्बोधन, बिमा निर्देशिका खारेजी र सार्वजनिक खरिद नियमावलीमा भएको त्रुटि सच्याउनुपर्ने माग गर्दै व्यवसायीहरू आन्दोलित छन् ।

महासंघको नेतृत्वमा उनीहरूले बिमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिएका छन् । आजदेखि निर्माणकार्य बन्द गरिएको र माग पूरा नभएसम्म काममा नफर्किने महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

निर्माण व्यवसायी आन्दोलित बन्दा आजदेखि ५ हजार निर्माण परियोजनाका काम ठप्प बनेका छन् ।

  • ११ बैशाख २०७९, आईतवार १०:४३ प्रकाशित