पोखरा ।
नेपाली कांग्रेस पोखरा महानगर–२८ ले गठबन्धनका अन्य दललाई वडा अध्यक्षको उम्मेदवार नबनाउन जिल्ला समितिलाई दवाब दिएको छ । गठबन्धनमा रहेका दल मध्य वडानम्बर २८ मा नेपाली कांग्रेस सबै भन्दा बलियो दल भएकाले कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनाउन माग गरिएको छ ।
वडा समिति, तरुण दल र क्षेत्रीय समितिले वडाध्यक्षको उम्मेदवार अन्य दलबाट हुन नहुने भन्दै जिल्लालाई ज्ञापनपत्र समेत बुझाएका छन् । वडानम्बर २८ गठबन्धन दल नेकपा माओवादी केन्द्रलाई दिने भन्ने खवर सार्वजनिक भए पछि कांग्रेस वडा नेतृत्व जिल्लालाई दवाव दिन पुगेको हो ।
गएको स्थानिय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार ७७ मतले पराजित भएको र अहिले सयौँको संख्यामा मतदाता कांग्रेस प्रवेश गरेकाले पनि कांग्रेसले एकल रुपमा पनि वडा जित्न सक्ने दावी गरेको छ । नेपाल तरुण दल पोखरा–२८ का अध्यक्ष सन्तोष वास्तोलाले जिल्ला नेतृत्वले जिम्मेवार तवरले निर्णय नगरे नेपाली कांग्रेसलाई पर्न जाने क्षतीको आकलन सहित निर्णय गर्न आग्रह गरे । वडाअध्यक्ष सहित २ सदस्य आफुहरुले पाउनुपर्ने कांग्रेसको माग छ ।
२०७४ को निर्वाचनमा एमालेका उम्मेदवार संग कांग्रेसका उम्मेदवार विकाश लामा गुरुङ ७७ मतले पराजीत भएका थिए । गुरुङले १४४८ मत ल्याएका थिए ।














