जुम्लामा एक घरमा आगलागी हुँदा चार बालबालिकाको जलेर मृत्यु

केन्द्रभाग मिडिया

जुम्लाको तिला गाउँपालिकाका–३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।

आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरु ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

“आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भने, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको उनले बताए ।

आगलागीका कारण बेहोस भएका मानसिं र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपाचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । मृतक सबैलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ । कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।

  • १० बैशाख २०७९, शनिबार १३:५७ प्रकाशित