काठमाडौं ।
निर्माण व्यवसायी ठेकेदारहरू आन्दोलित भएका छन् । मुल्य समायोजनको माग गर्दै ठेकेदारहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघले आज शुक्रबार पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो ।
ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले सो मूल्यवृद्धि समायोजन नभएसम्म आयोजनाको काम रोकिने महासंघका अध्यक्ष रवि सिंहले बताए ।
ठेकेदारहरुले ठेक्का लिने बेलामा भन्दा अहिले कतिपय निर्माण सामग्रीको मूल्य दोब्बरसम्म भएको र सधैभरि गोजीबाट रकम हालेर काम नसक्ने भन्दै मूल्यवृद्धि समायोजन नहुदाँसम्म काम अघि नबढ्ने चेतावनी दिएका छन् । यद्यपि अत्यावश्यक काममा भने निरन्तरता दिने भएका छन् ।
निर्माण व्यवसायीले काम रोकेसँगै चालु रहेका ५ खर्ब बढीका ५ हजार आयोजनाको निर्माण कार्य प्रभावित हुने भएको छ ।