फेरि वामपन्थी एकता हुनुपर्छ : प्रचण्ड

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न आन्दोलनपछिको उपलब्धि जोगाउनका लागि फेरि वामपन्थी एकता हुनुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १ सय ५२ औं लेनिन जयन्तीका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजित कार्यक्रममा प्रचण्डले गणतन्त्रलाई कमजोर पार्दै जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षडयन्त्र भइरहेको भन्दै माओवादी आन्दोलनका घटकहरु एक हुनुपर्ने बताएका हुन् ।

माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टलाई विभाजन गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुर्नप्राप्ती हुनसक्छ भन्नेहरु र फेरि निरंकुश लाद्न खोज्नेहरु अझै पनि सक्रिय रहेकाले सजक रहनुपर्ने उनको भनाइ छ ।

उनले हिजो विभाजित भएर गएका माओवादीमा पनि विभाजनको औचित्य पुष्टि हुन नसकेकाले फेरि कम्युनिस्टहरुको बीचमा ध्रुबीकरण हुनसक्ने जिकिर गरे । त्यस्तै उनले कम्युनिष्टलाई कमजोर पार्न खोजिएकै कारण नेकपाको एकता टिक्न नसकको तर्क गरे ।

अहिले एमालेभित्र पनि राम्रा कम्युनिस्ट रहेपनि नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमान्दर कम्युनिस्टहरु त्यसको शिकार हुने खतरा रहेको उनले बताए । प्रचण्डले एमाले भित्रका इमान्दार कम्युनिष्टहरुले गलत प्रवृतिकाविरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गरेका छन् ।

  • ९ बैशाख २०७९, शुक्रबार १५:४६ प्रकाशित