बुढीगण्डकी परियोजना सम्झौता रद्द, चीन रुष्ट

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले बुढीगण्डकी जलविद्युत् परियोजना निर्माणको सम्झौता चिनियाँ कम्पनीसँग रद्द गरेपछि चीन असन्तुष्ट बनेको छ।

केही दिनअघि एक हजार दुई सय मेगावाट क्षमताको सो परियोजना निर्माणको सम्झौता सरकारले रद्द गरेको हो । हिजो बिहीबार नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले भर्चुअल पत्रकार सम्मेलनमा बोल्ने क्रममा घुमाउरो ढंगले त्यसबारे असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले नेपालले चिनियाँ उद्यमका वैधानिक अधिकारको रक्षा गर्नुपर्ने बताएकी छन्। ‘म आशा गर्छु, नेपाली पक्षले चिनियाँ उद्यमका वैधानिक अधिकार र चासोको पूर्ण रक्षाका लागि निष्पक्ष र पारदर्शी व्यापारिक वातावरण प्रदान गर्नेछ,’ उनले भनिन्। चिनियाँ लगानीकर्ताका व्यावहारिक समस्या समाधानका लागि नेपालले सहयोग गर्ने विश्वास उनले व्यक्त गरेकी छन्।

बुढीगण्डकी परियोजना निर्माणका लागि चिनियाँ सरकारी स्वामित्वको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडसँग नेपाल सरकारले दुईपटकसम्म सम्झौता गरेर रद्द गरेको छ।

  • ९ बैशाख २०७९, शुक्रबार ०९:०० प्रकाशित