गण्डकीबाट ४६ हजार १९१ विद्यार्थीले एसइई दिदैँ : कुन जिल्लाका कति ? (संख्यासहित)

केन्द्रभाग मिडिया

उमा वि क।

भोलि(वैशाख ९)गते शुक्रबारबाट सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा(एसइईमा) गण्डकी प्रदेशबाट ४६ हजार १ सय ९१ जना विद्यार्थी सहभागी हुदैँछन् ।

भोलि बिहान ८ बजेबाट सुरु हुन लागेको एसइई परीक्षाको सम्पुर्ण तयारी पूरा भएको जनाउँदै शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले सो जानकारी दिएको हो ।

प्रदेशका ११ वटा जिल्लामा सञ्चालित १ हजार ३ सय ४१ विद्यालयहरुका विद्यार्थीहरुमध्ये  नियमित तर्फ ४५ हजार १ सय ५५ जना, प्राविधिक तर्फ ८१५ जना र ग्रेडवृद्धि तर्फ २२१ जना विद्यार्थी रहेको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिका आचार्यले जानकारी दिए  ।

निर्देशनालयले उपलब्ध गराएको तथ्यांक अनुसार प्रदेशका ११ जिल्ला मध्ये कास्कीबाट सबैभन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुदैँछन् भने सबैभन्दा कम मनाङ जिल्लाबाट रहेका छन् ।यस वर्ष कास्कीका २९३ विद्यालयका १० हजार ६ सय २२ विद्यार्थीले एसइई दिदैँछन् ।

जसमध्ये दृष्टिविहीन ६ जना र कान नसुन्ने १४ जना विद्यार्थी रहेका छन् । यस्तै १० जनाले ग्रेडवृद्धिको लागि परीक्षा दिने भएका छन् । कास्कीमा एसइई परीक्षाका लागि ३२ केन्द्र तोकिएको छ ।

यस्तै नवलपुरका ६ हजार ८०३, तनहुँका ६ हजार ३ सय ५६, गोरखाका ४ हजार ९ सय ५ जना, लमजुङका ३ हजार २४, स्याङ्जाका ४ हजार ७७६, मुस्ताङका १८३, म्याग्दीका २ हजार २४५, पर्वतका २ हजार ३४२, बागलुङका ४ हजार ८ सय ९३ र मनाङ जम्मा ४३ जना विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।

परीक्षा सञ्चालनका लागि प्रदेशभर २२३ परीक्षा केन्द्र तय गरिएको छ। यस्तै २२३ केन्द्राध्यक्ष , ३१२ सहायक केन्द्राध्यक्ष, २ हजार ३११ निरिक्षक, ४५८ जना परीक्षा सहायक ,९२५ कार्यालय सहयोगी परीक्षा केन्द्रहरुमा खटाइने  निर्देशक आचार्यले बताए ।

निर्देशक आचार्यको अनुसार परीक्षा मर्यादित र शान्तिपूर्ण रुपमा सञ्चालनका लागि ३ हजार ३ सय ४५ जना सुरक्षाकर्मी परीक्षा केन्द्रहरुमा तैनाथ गरिने छ  । प्रदेश शिक्षा विकास निर्देशनालयले ११ वटै जिल्लामा उत्तरपुस्तिका पठाई सकेको छ ।

कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले आन्तरिक मूल्याङ्क गरेकोमा यसपाली भने स्वास्थ्य मापदण्ड अपनाई भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुने भएको हो ।

  • ८ बैशाख २०७९, बिहीबार १५:५१ प्रकाशित