तल्लो तहमा देखिएको असन्तुष्टिले चुनावी परिणाममा केही फरक पार्दैन : प्रचण्ड

केन्द्रभाग मिडिया

धनगढी ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेल नहुने स्थानमा सत्ता गठबन्धनबीच मित्रतापूर्वक प्रतिस्पर्धामा जान सकिने बताएका छन् ।

बिहीबार बिहान धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धनभित्र समस्या देखिए स्वस्थ प्रतिस्पर्धाको विकल्पमा पनि जान सकिने गरी निर्णय गरिएको बताए । तर, तालमेलमा नै जोड दिइएको उनको भनाइ छ ।

आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनविरोधी र प्रतिगमनका पक्षधरहरूको कित्ता ‘क्लियर’ भएको उनले बताए ।

“चुनावी तालमेलको सिट बाँडफाँडमा देखिएको असन्तुष्टि केही दिनमै शान्त हुनेछन्,” प्रचण्डले भने, “गठबन्धनभित्र धेरथोर असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दरता हो । निर्वाचनमा गठबन्धनभित्र मात्र होइन, एउटै पार्टीभित्र पनि एउटाले टिकट पाएपछि केही न केही असन्तुष्टि देखापर्नु स्वाभाविक हो ।”

अर्को प्रसंगमा प्रचण्डले चुनावी तालमेलबारे नेपाली कांग्रेसमा देखिएको असन्तुष्टिले परिणाममा कुनै फरक नपर्ने बताए । कांग्रेसमा देखिएको असन्तुष्टिबारे सोधिएको प्रश्नमा उनले भने, “यसले परिणाममा केही फरक पार्दैन । एक–दुई दिनभित्र ती सबै साथीहरू शान्त हुन्छन् । गठबन्धनको केन्द्रले बुद्धिमतापूर्वक निर्णय गरेको सबैले बुझ्नु जरुरी छ ।”

  • ८ बैशाख २०७९, बिहीबार १२:१८ प्रकाशित