काठमाडौं ।
७४ वर्षपछि नेपालमा अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा आएको हो ।
भैरहवा (रुपन्देही) मा निर्माण भएको सो विमानस्थल आजदेखि विधिवत रूपमा सञ्चालनमा आएको हो। विमानस्थल आजदेखि सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्धजयन्तीका दिनदेखि हुने प्राधिकरणले जनाएको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि आन्तरिकतर्फ उडान सुरु गरेको छ । आन्तरिकतर्फ यती एयरलाइन्सले पहिलो उडान भरेको विमानस्थलले जनाएको छ ।यतीले बिहान ७ः४५ बजे पहिलो उडान भरेको हो ।
बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४सै घण्टा सञ्चालन गर्ने तयारी गरेको छ । टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।