आज नेपाल आउँदै डब्ल्युएचओका महानिर्देशक गेब्रेयसस : यस्तो छ कार्यक्रम

केन्द्रभाग मिडिया

काठमाडौं ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा आज नेपाल आउन लागेका उनले वैशाख १० गतेसम्म नेपाल भ्रमण गर्नेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भ्रमणका क्रममा डा टेड्रोसले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेट गर्ने छन् ।

नेपालमा रहँदा टेड्रोसले नेपाल सरकारका उच्च अधिकारीसहित डब्लूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहने आउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • ८ बैशाख २०७९, बिहीबार ०८:४३ प्रकाशित