…अनि निर्णय मान्ने सहमतिमा पुगे कांग्रेस पोखराका नेता, हिजो लगाएको ताला आज खुल्ने

केन्द्रभाग मिडिया

पोखरा ।
कांग्रेस पोखरा महानगर समितिले जिल्ला पार्टी कार्यालयमा लगायतको ताला आज (बिहीबार खोल्ने भएको छ । पोखरा महानगरपालिकाको नेतृत्व नेकपा एकीकृत समाजवादीलाई दिने गठबन्धन दलहरुको निर्णय विरुद्ध हिजो समितिका सचिवद्वय गणेश थापा र टुवराज बास्तोलाले बुधबार कांग्रेस जिल्ला पार्टी कार्यालयको मुल गेटमा तालाबन्दी गरेका थिए ।

पार्टी निर्णय मान्नुको विकल्प नरहेको भन्दै आफूहरु ताला खोल्न सहमत भएको महानगर समिति सचिव थापाले जानकारी दिए । ‘हामी जिल्ला नेतृत्वसंग पनि बस्यौं, महानगर समितिका साथीहरुपनि बस्यौं । अनि ताला खोल्ने निर्णय ग¥यौं’ उनले भने । तर आफ्नो असन्तुष्टिलाई प्रदेश समितिमा प्रकट गरिएको उनले बताए ।

आफूहरुले पोखरामा मेयरको उम्मेद्वार बन्न निवेदन दिएका सबैको नाम प्रदेशमा पठाइदिएको उनले जानकारी दिए । उपमेयरमा उम्मेद्वार बन्न निवेदन दिने पनि सबैको नाम प्रदेश समितिमा सिफारिस गरिएको उनले बताए ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीको आन्तरिक विषय भएकाले आन्तरिक रुपमै मिलाइएको बताए । ‘गठबन्धनले गरेको विषय हो । साथीहरु त्यहाँसम्म पुग्नुपर्ने थिएन । पुग्नुभयो । सबै कुरा मिलाएका छौं ।  ताला खुल्छ’ उनले भने । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले गठबन्धनको निर्णय नै आफूहरुको निर्णय भएकाले त्यसको अक्षरस पालना हुने बताए ।

पार्टी कार्यालयमा ताला लगाउनुलाई अन्यथा रुपमा लिन नहुने सभापति शर्माको तर्क छ । ‘आफ्नो पार्टीको उम्मेद्वार पाउने आशा गरेका नेता कार्यकर्तालाई अर्को पार्टीको उम्मेद्वार आउँदा आक्रोस आउनुलाई अन्यथा रुपमा लिनु हुँदैन । तर गठबन्धनको निर्णय हाम्रो निर्णय हो । सिंगो पार्टीपंक्ति उक्त निर्णय कार्यान्वयन गर्न प्रतिवद्ध भएर लाग्छ’ उनले भने ।

  • ८ बैशाख २०७९, बिहीबार ०७:०९ प्रकाशित