ओलीले गरे कुलमानको आलोचना, भने ‘भारतलाई ४ रुपैयाँमा बिजुली बेचेर ३८ रुपैयाँमा किन्ने …’

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको आलोचना गरेका छन् ।

ललितपुरमा बुधबार आयोजित एमालेको एक कार्यक्रमलाई सम्बोधनका क्रममा घिसिङले भारतलाई चार रुपैयाँमा विजुली बेचेर ३८ रुपैयाँमा किनेको भन्दै घिसिङ्को आलोचना गरेका हुन् ।

भारतमा विद्युत् निर्यातमा नेपाललाई घाटा भएको पनि ओलीले बताए । उनले विद्युत् निर्यातमा प्रतियुनिट ३४ रुपैयाँ घाटा भइरहेको दाबी गरे ।  ‘चार रुपैयाँमा भारतलाई बिजुली बेचेर ३८ रुपैयाँमा युनिटमा किन्ने गरेको छ । चार रुपैयाँमा बेचेर ३८ रुपैयाँमा किन्दा ३४ रुपैयाँमा प्रतियुनिट घाटामा । यस्ता व्यक्तिको फोटो लिएर हिँड्ने दल पनि छन् गठबन्धनभित्र’ उनले भने ।

माओवादीले घिसिङको तस्बिर भएको चुनाव प्रचार सामग्री तयार पारेको थियो ।  उक्त तस्बिरको आलोचन भएपछि र घिसिङले पनि असन्तुष्टि जनाएपछि उनको तस्बिर हटाइएको थियो । सोही कुरालाई लिएर ओलीले घिसिङको आलोचना गरेका हुन् ।

  • ७ बैशाख २०७९, बुधबार १८:०४ प्रकाशित