सिन्धुली ।
बोलेरोको ठक्करबाट पैदलयात्रीको ज्यान गएपछि बीपी राजमार्ग स्थितको क्षेत्र तनावग्रस्त बनेको छ ।
पैदल यात्रीको मृत्युपछि स्थानीयले अवरुद्ध पारेको बीपी राजमार्ग खुलाउन गएका प्रहरीमाथि प्रर्दशनकारीले ढुंगामुढा प्रहार गरेका छन् । बन्दकर्ताहरुको आक्रमणमा परी ११ प्रहरी घाइते भएका छन्।
प्रहरी र बन्दकर्ताबीचको बुधबार भएको दोहोरो झडपले बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका( २ पीपलभन्ज्याङ तनावग्रस्त बनेको थियो ।
घाइते प्रहरीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुली प्रहरीका अनुसार घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको छ ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्यास र हवाई फायरसमेत गरेको बताइएको छ ।स्थानीयले सडक बन्द गरेपछि सयौं सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।
बोलेरोको ठक्करबाट गम्भीर घाइते पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको मृत्यु भएको थियो । उक्त घटनाका दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै स्थानीयले बुधबार बिहानैदेखि सडक अवरुद्ध गरेका छन् ।