अर्थमन्त्रीलाई राजीनामा गर्न दावव

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुधबार ट्विट गदै अर्थमन्त्री जर्नादन शर्मालाई राजीनामा गर्न सुझाएका छन् । सत्ता घटक दलका महामन्त्री शर्माले काँग्रेस नेता महेश आचार्यलाई स्मरण गर्दै घुमाउरो पाराले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका हुन् ।

०५६ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा आचार्य अर्थमन्त्री थिए । उनको जोडबलमा सरकारले नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर तिलक रावललाई पदबाट हटायो । रावलले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत गुहारे । सर्वोच्चले उनको पद थमाइदियो । त्योसँगै आचार्यले नैतिक रूपमा अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

अहिले पनि सरकारले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध जाँचबुझ समिति गठन गरेसँगै अधिकारी निलम्बनमा परेका थिए । सरकारको निर्णयविरुद्ध अधिकारी सर्वोच्च गए । मंगलबार सर्वोच्चले तत्काल अधिकारीमाथि कुनै कारबाही नगर्न भन्दै सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको गर्यो ।

यही सन्दर्भलाई लक्षित गर्दै महामन्त्री शर्माले आचार्यको तस्बिरसहित ट्विटमा लेखेका छन्, “बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति ।”

“समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।”

सत्ता गठबन्धन दलकै शीर्ष नेताहरूले समेत अर्थमन्त्री शर्माको उक्त कदमप्रति असन्तुष्टि जनाउँदै राजीनामा माग्न थालेका छन् । त्योसँगै आफ्नो निर्णयविपरीत सर्वोच्चबाट आएको अल्पकालीन अन्तरिम आदेशले शर्मासामु नैतिक प्रश्न खडा भएको छ ।

 

  • ७ बैशाख २०७९, बुधबार १३:०७ प्रकाशित