काठमाडौं ।
आर्थिक वर्ष २०७८/०७९ को ८ महिनाको अवधिमा आयात भन्दा निर्यात बढी रहेको पाइएको छ। आयात ३८.६ प्रतिशतले बढ्दा निर्यात भने ८२.९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय स्थितिसम्बन्धी समीक्षा रिपोर्टले यस्तो देखाएको हो। आठ महिनामा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई १४७ अर्ब ७५ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः १०४.२ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११.० प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।
यस्तै आर्थिक वर्ष २०७८र७९ को आठ महिनामा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई १३०८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१ प्रतिशत, ३६.७ प्रतिशत र ७५.४ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।