काठमाडौं ।
नेपाल प्रेस काउन्सिलले बोलाएको बयानमा पत्रकार ऋषि धमलाले अब आचारसंहिता राम्ररी पढ्ने बताएका छन् ।
प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र विमानस्थलको नितिनियम विपरीत जबरजस्ती लाइभ कार्यक्रम गरेको विषयमा नेपाल प्रेस काउन्सिलले उनलाई स्पष्टीकरण सोधेको थियो । धमलाको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्रेस काउन्सिलले उनलाई आज मौखिक बयानका लागि डाकेको हो ।
सो बयानको क्रममा धमलाले पत्रकार आचारसंहिता आफुले राम्ररी नबुझेको स्वीकार्दै अब राम्ररी पढ्ने बताएका हुन् । उनले भने, ‘मैले आचारसंहिता अध्ययन गरेको रहन्छु । अब राम्ररी पढेर यसलाई मनन गर्छु र अरू पत्रकारहरूलाई पनि आचार संहिता अध्ययन गराउन क्याम्पेन नै चलाउँछु ।’
नियामक निकायका रूपमा काउन्सिलले आफूमाथि गरेको निगरानीलाई सकारात्मक रूपमा लिएको धमलाले बताए । यसले पत्रकारिता जगतलाई शुद्धीकरण गर्न मद्दत मिल्ने उनले विश्वास व्यक्त गरे । काउन्सिलको आचारसंहिता अनुगमन समितिले करिब एक घण्टा उनको बयान लिएको हो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहित आचारसंहिता अनुगमन समितिका पदाधिकारीहरूले धमलासँग सोधपुछ गरेका थिए ।