पोखरा ।
पोखराको मुख्यबजार चिप्लेढुंगाबाट उत्तर तर्फको मार्ग पराजुली मार्गमा फहराई रहेको झण्डाले त्यहाँ प्रवेश गर्ने जो कोहीलाई पनि केही राष्ट्रिय उत्सव भइरहेको झल्को दिन्छ । उक्त मार्गमा होलसेल कारोबार हुन्छ ।
त्यहाँका होलसेल व्यवसायी मिलेर नयाँ वर्षको स्वागतका लागि यसरी सडकको दुबै तर्फ राष्ट्रिय झण्डा राखेको व्यवसायीले जानकारी दिएका छन् । कोरोना कहर पछि मानिसहरुको चहलपहल बढेको र नयाँ वर्षमा नयाँढंगले केही गरौं भन्ने उद्देश्यले यसरी झण्डा राखिएको त्यहाँका व्यवसायी मध्येका एक ध्रुव पौडेलले जानकारी दिए ।
उनका अनुसार चिप्लेढुंगा आएर उक्त मार्गमा नजर पर्नेहरुले के उत्सव रहेछ भन्दै चासो राख्ने र भित्र छिर्ने क्रम बढेको छ । ‘नयाँ वर्षमा केही गरौं भन्ने सहल्लाह भयो । अनि नयाँ झण्डा राखेका हौं । यसले सुन्दरता झल्काएको मात्र छैन सबै क्षेत्रको ध्यान पनि खिचेको महसुस गरेका छौं’ उनले भने, ‘हामी नेपालीहरुको आफ्नै नयाँ वर्षमा राष्ट्रियता झल्काउने र अपनत्व दिलाउने काम पनि गरेका छौं भन्ने लागेको छ ।’
पौडेलले पराजुली मार्गमा १६५ व्यवसायीहरु रहेका जानकारी दिए । सटिङ सुटिङ, लत्ता कपडा, कस्मेटिक र जुत्ता चप्पल लगायतका सामानको उक्त मार्गमा होलसेल व्यापार हुनेगरेको छ ।